परिचय

कृषकहरुले परम्परागत रुपमा अबलम्बन गर्दै आएको खेती प्रणालीमा आधुनिकिकरण गरी कृषिजन्य वस्तुहरुको उत्पादन र उत्पादकत्वमा परिणात्मक एवम् गुणात्मक वृद्धि गरी कृषकहरुको जीवनस्तर सुधार गर्ने साथै अनुसन्धानबाट सिफारिस भएका उन्नत कृषि प्रविधिहरुको प्रयोगका एवम् ग्रहण गर्नका लागि कृषि प्रसार शैक्षिक पद्दतिहरुको माध्यमद्वारा कृषकस्तरमा जनचेतना बृद्धि गर्दै प्राविधिक सेवा टेवा पुर्याउने उद्देश्यले नेपाल सरकारको कृषि नितिलाई कार्यान्वयन स्तरमा उतार्ने जिल्लास्तरिय निकायको रुपमा वि.सं. २०२५ सालमा कृषि विकास शाखाको नामले कार्यालयको स्थापना भएको थियो।समयक्रमसँगै कार्यालयको नाम परिवर्तन हुंदै जाने क्रममा पछिल्लो समय जिल्ला कृषि विकास कार्यालयको नाममा सेवा पुर्याउंदै आएकोमा वि.सं. २०६२/२०६३ को जनआन्दोलनबाट नेपालमा ठूलो राजनितिक परिवर्तन भयो र संवैधानिक राजतन्त्रात्मक व्यवस्था खारेज भई नेपाल अधिराज्य संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिवर्तन भयो।बि.सं. २०७२ मा नेपालको नयां संविधान बन्यो।नेपालमा ७ प्रदेश र ७५३ वटा स्थानिय तहहरुको निर्माण भई ३ तह (संघिय संसद, प्रदेश र स्थानिय) तहहरुको संचालन भएको भएको छ।

नेपाल सरकार अन्तर्गत रहेका कार्यालय, संघसंस्थाहरुको पुनर्गठन र पुर्नसंरचना भयो र संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार अन्तर्गत रहने व्यवस्था भयो।साविक जिल्ला कृषि विकास कार्यालयहरु आ.व २०७४/०७५ को आषाढ मसान्तसम्म खारेज भई गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत लमजुङ जिल्ला र मनाङ जिल्ला कार्य क्षेत्र रहने गरी कृषि ज्ञान केन्द्र, लमजुङको स्थापना भएको हो।साविक जिल्ला कृषि विकास कार्यालयबाट उपलब्ध गराउंदै आएको कृषि प्रसार कार्य स्थानीय सरकारमार्फत संचालन गर्ने र कृषि व्यवसायिकिरणलाई टेवा पुर्याउन कृषि विकासका कार्यक्रमहरु कृषि ज्ञान केन्द्र मार्फत सन्चालन गर्ने गरी व्यवस्था भयो।लमजुङ जिल्लाको बेसीशहर नगरपालिका वडा नं ८ मा कृषि ज्ञान केन्द्र, लमजुङको कार्यालय साविकको जिल्ला कृषि बिकास कार्यालय रहेको स्थानमा रहेको छ।जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वयमा स्थानिय भू-पर्यावरणिय विशिष्टता, सम्भाव्यता र तुलनात्मक लाभका आधारमा प्राथमिकता अनुरुप खाद्यान्न, दलहन, तेलहन बालीका साथै फलफूल, कफी, अलैंची, चिया, ताजा तरकारी, तरकारी बीउ, मसालाबाली, आलु, मौरी, च्याउ आदि नगदे बालीको दीगो विकास एवम् विस्तार गर्नका लागी घोषित कृषि विकासको उद्देश्य र नीति अनुरुप कृषि विविधिकरण तथा व्यवसायिकीकरण, सन्तुलित वातावरण र गरिबी निवारणको नारालाई आत्मसात गर्दै आफ्नो मातहतका दुई वटा प्राविधिक शाखाका साथै एक प्रशासनिक फाँटद्वारा कृषक समूह, कृषि सहकारी एवम् आधिकारिक रुपमा दर्ता भएका व्यवसायिक कृषि फर्महरुमार्फत कृषि विकासका विविध कार्यक्रम संचालन गरी कृषि व्यवसायिकिकरणमा सेवा प्रवाह गर्दै आएको छ।